‘खेलकुद महोत्सवले खेलकुद क्षेत्रलाई सहयोग पुग्छ’

हेटौंडा,मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने पूर्व अध्यक्षहरुले बताएका छन् । खेल क्षेत्रको विकासका लागि कोष निर्माण गर्ने उदेश्यसहित हेटौंडाको टिसिएन चौरमा यहि पुस ५ गतेबाट खेलकुद तथा व्यापार महोत्सव हुँदैछ । महोत्सवमा खेलकुदसंग सम्बन्धित विभिन्न १३ वटा बिधामा प्रतिस्पर्धा समेत हुनेछ । आयोजकले महोत्सवको तयारीलाई तीव्र पारेको छ ।

ADVERTISEMENT

खेल र खेलाडीको हकहितमा काम गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सव सफल पार्न सबैले सहयोग गर्नुपर्ने पूर्व अध्यक्षहरुले बताएका छन् । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गीले सामान्य चोटपटक लाग्दा उपचार गर्न नसक्ने अवस्था खेलाडीको रहेको जानकारी दिँदै उनीहरुको लागि काम गर्ने उदेश्यले महोत्सव गर्न लागिएको जानकारी दिए । ‘पैसाको अभावमा खेल्न जान सकिएन, उपचार गर्न सकिएन भन्दै खेलाडीहरु चिठी बोकेर आउने गरेका छन् । हामीले सिफारिस बनाइदिने र टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेका छैनौं’,अध्यक्ष खड्गी भन्छन्, ‘महोत्सवबाट बचेको रकम खेलाडीको बीमा, उनीहरुको उपचार र खेलकुदकै लागि प्रयोग गरिनेछ ।’

खेलकुद विकास समितिका पूर्व अध्यक्ष प्रभात दाहालले महोत्सवको उदेश्य क्लियर भएकोले सबैले सहयोग गर्नु जरुरी रहेको बताए । ‘वर्तमान कार्यसमितिले राम्रो सोचाईका साथ महोत्सव आयोजना गर्न लागेको छ । यसमा हामी पूर्व अध्यक्षहरुको साथ, सहयोग रहनेछ’, दाहालले भने, ‘सबैबाट सहयोगको अपेक्षा गर्दछौं ।’ महोत्सवको प्रचारप्रसार, महोत्सव स्थलको सरसफाई, सामान ल्याउने लगायतका काम तीव्र भैरहेको छ । यस्तै खेलकुद विकास समितिका अर्का पूर्व अध्यक्ष बालकृष्ण चौलागाईंले यो खेलकुद महोत्सव भएकोले कसैले बिरोध गर्नु आवश्यक नरहेको बताए ।

ADVERTISEMENT

‘खेलकुदसँग सम्बन्धित संस्थाले खेल महोत्सव आयोजना गर्न लागेको हो’, चौलागाईंले भने, ‘यसले पक्कै जिल्लाको खेल क्षेत्रको विकासमा मद्दत पुर्याउनेछ ।’ महोत्सवका लागि सबै पूर्व अध्यक्षहरु रहेको सल्लाहकार समिती निर्माण गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हुन लागेको महोत्सवबाट करिब २५ लाख रुपैयाँको कोष निर्माण गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिको लक्ष्य रहेको छ । महोत्सवमा दैनिक विभिन्न राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय खेलकुद प्रतियोगितासहित राष्ट्रिय कलाकारहरुको प्रश्तुती, बाल उद्दान, लाइभ दोहोरी सहित व्यवसायिक स्टल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *