आज छठ पर्व, तयारी पूरा

हेटौंडा, आज आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । छठ पूजा समारोह समितिको अग्रसरतामा हेटौंडाको राप्तीतट सिंगारिएको छ । पछिल्ला बर्षहरुमा हेटौंडाको राप्तीतटमा छठ पूजा गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ ।

छठ पूजाको सम्पूर्ण तयारी करिब पूरा भएको छठ पूजा समारोह समितिका अध्यक्ष सुशीलप्रसाद सेनुरिया बनियाले जानकारी दिए । राप्तीतटमा पूजा गर्ने भक्तजनहरु करिव ५ सय जना हुने र ६० हजार जना हाराहारीले अवलोकन गर्ने उनको दावी छ । ६०० सय फिटको टेण्ट लगाएर ३० वटा ठाउँमा भक्तजनहरुले सामूहिक पूजा गर्नेछन् । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपिन गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिने गरिन्छ ।

भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । छठको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा पनि दिएको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

Advertisement 3

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *