हेटौँडा, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले स्थानीय सरकारले तय गरेका लक्ष्यहरू पूरा गर्नु सबैको साझा दायित्व रहेको बताएका छन्। विहीबार गाउँपालिकामा आयोजित स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१/०८२ का स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सभालाई सम्बोधन गर्दै उनले सरकारका लक्ष्यहरू पूरा गर्न कर्मचारी र जनप्रतिनिधि दुवैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष मुक्तानले वडास्तरीय प्रमुखहरूलाई स्वास्थ्य सेवाको प्रवाहमा विशेष ध्यान दिन आग्रह गरे। गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले वडा तहका स्वास्थ्य चौकीहरूमा राखिने तथ्याङ्कहरू सुसङ्गत र यथार्थपरक राख्न निर्देशन दिए। उनका अनुसार, तथ्याङ्कमा त्रुटि भए त्यसले गम्भीर असर पार्न सक्छ।
स्वास्थ्य क्षेत्रमा प्रभावकारी कामका कारण गाउँपालिकामा वित्तीय समानीकरण अनुदान वृद्धि भएको जानकारी दिँदै अध्यक्ष मुक्तानले चालु आर्थिक वर्षमा पनि गत वर्षझैँ सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरे।
“हाम्रो लक्ष्य धेरै छन् — सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरीलाई शून्यमा झार्ने, बालबालिकाका स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकका सेवासहित विविध कार्यक्रमहरू सञ्चालन गर्ने,” उनले भने, “यी सबैलाई ध्यानमा राखी कार्य सम्पादन गर्न आवश्यक छ।” गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गर्दै आएको उनले बताए। साथै, खानेपानी, उद्यम विकास तथा सीपमूलक तालिमका कार्यक्रमहरू पनि सञ्चालनमा रहेको जानकारी दिए।
अध्यक्ष मुक्तानका अनुसार गाउँपालिकाको १० शैयाको अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको छ। समीक्षा कार्यक्रममा गाउँपालिकाका १० वटै वडाबाट वार्षिक कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो।
दुई दिनसम्म चल्ने उक्त समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ। कार्यक्रममा गाउँपालिका भित्र स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।