हेटौँडा, बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भइरहेको तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स विधामा चितवन जिल्ला प्रथम भएको छ। हेटौँडामा सम्पन्न प्रतियोगितामा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै १५ स्वर्ण, १३ रजत र ३ कास्यसहित कुल ३१ पदक जितेर शीर्ष स्थान हासिल गरेको हो।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो। विभिन्न ट्र्याक तथा फिल्ड स्पर्धामा प्रतिस्पर्धा गरेका चितवनका खेलाडीहरूले पुरुष तथा महिलातर्फ सशक्त प्रदर्शन गर्दै टोलीलाई समग्र उपाधि दिलाएका हुन्। चितवनले पुरुषतर्फ ९ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको छ भने महिलातर्फ ६ स्वर्ण, ५ रजत र १ कास्य पदक हात पारेको छ। दुवै समूहमा सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै चितवनले अन्य जिल्लामाथि स्पष्ट अग्रता कायम गरेको हो।
एथ्लेटिक्सतर्फ काठमाडौं दोस्रो स्थानमा रह्यो। काठमाडौंले ८ स्वर्ण, १ रजत र १ कास्य गरी कुल १० पदक जित्यो। काठमाडौंका खेलाडीहरूले विशेषगरी महिलातर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण पदक जितेका थिए भने पुरुषतर्फ ३ स्वर्ण पदक प्राप्त गरेका थिए। यस्तै, भक्तपुर ५ स्वर्ण, ५ रजत र ३ कास्यसहित कुल १३ पदक जित्दै तेस्रो स्थानमा रह्यो। भक्तपुरले महिलातर्फ ३ स्वर्ण र पुरुषतर्फ २ स्वर्ण पदक जितेर आफ्नो उपस्थिति बलियो बनाएको थियो।
प्रतियोगितामा हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, ज्याभेलिन थ्रो, रिले दौडलगायत विभिन्न ट्र्याक तथा फिल्ड स्पर्धा समावेश गरिएको थियो। सहभागी खेलाडीहरूले आफ्नो जिल्ला प्रतिनिधित्व गर्दै प्रदेशस्तरमा प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गरेका थिए। बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितालाई नयाँ प्रतिभा पहिचान गर्ने तथा भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। परिषद्का अनुसार प्रदेशस्तरीय प्रतियोगिताले जिल्लामा रहेका खेल प्रतिभाहरूलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एथ्लेटिक्स विधामा चितवनले हासिल गरेको प्रभावशाली नतिजाले जिल्लाको खेल पूर्वाधार, प्रशिक्षण प्रणाली तथा खेलाडीहरूको तयारी स्तरलाई थप बलियो रूपमा स्थापित गरेको खेलकुद क्षेत्रका सरोकारवालाहरूले बताएका छन्।






