हेटौंडा,हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपमा सहभागी मकवानपुरको विजय यूथ क्लवले बलियो टिम बनाउने तयारी गरेको छ । सातौं सिमरा गोल्डकपको विजेता समेत रहेको विजय यूथले मकवानपुरका चर्चित फुटबलर तथा विभिन्न क्लवबाट खेलिसकेका खेलाडीलाई समेटेर टिम बनाएको छ ।

एक विदेशी खेलाडीसहित नेपालको राष्ट्रिय टिम तथा विभिन्न ए डिभिजन क्लवबाट खेलिसकेका खेलाडीहरु रजिन धिमाल, छिरिङ गुरुङ, सन्जोग राई, विमल राना, कुलदिप कार्की, डोना थापा लगायतका खेलाडीलाई मैदान उतार्नेछ । यस्तै मकवानपुर घर भई विभिन्न क्लवबाट खेल कौशल देखाइसकेका अमिर श्रेष्ठ, अशोक बराल, समिराज थोकर, रोशन दोङ, अनिष देउला, सुनिल घलान, मनोज बिष्ट, अनिल थापा मगर लगायतका खेलाडीलाई पनि क्लवले लिएको छ । गोलपोष्ट तथा कप्तानी अशोक बरालले सम्हाल्ने सम्भावना रहेको छ ।
क्लवका अध्यक्ष सुदीप राजबहाकले यसअघि पनि आफ्नो क्लवबाट खेलिसकेका खेलाडीहरु लिएर नै आफ्नो टिम मैदान उत्रिने बताए । थ्रीस्टार, मछिन्द्र लगायतका चर्चित क्लवले प्रतियोगितामा सहभागिता नजनाएकोले पनि उपाधि यात्रा केही सहज हुने उनको अनुमान रहेको छ । क्लवको प्रशिक्षणको जिम्मेवार एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठले हेरिरहेका छन् । घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य रहेको उनले बताए । विजय यूथले २५ गते नव जनजागृति युवा क्लव सिमरासंग खेल्नेछ । सिमराले सर्लाहीको बागमती युवा क्लवलाई उद्घाटन खेलमा २–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ ।






