भुटनदेवी माविका १३ जना शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

हेटौँडा, हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्ना निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोतको प्रयोग गरी सामाजिक सुरक्षाको दायरामा शिक्षक तथा कर्मचारीलाई समेटेको हो।

ADVERTISEMENT

सामाजिक सुरक्षा कोष स्थापनाका अभियन्ता तथा जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आयोजित कार्यक्रममा आबद्ध सदस्य कार्ड वितरण गर्नुभयो। सो अवसरमा उहाँले सामाजिक सुरक्षा कोषले श्रमिकको भविष्य सुरक्षित गर्ने बताउँदै सामुदायिक विद्यालयबाट सुरु भएको यो अभ्यास प्रेरणादायी र उदाहरणीय रहेको उल्लेख गर्नुभयो।

आन्तरिक स्रोतमार्फत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालयका रूपमा भुटनदेवी माध्यमिक विद्यालयले नयाँ पहिचान बनाएको छ। यस कदमले सामुदायिक शिक्षामा कार्यरत शिक्षक तथा कर्मचारीको हक–अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *