हेटौँडा, लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४७ औँ जन्मजयन्तीको अवसरमा हेटौँडामा ‘मेल्भिन जोन्स सेवा सप्ताह’ सुरु भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस, नेपालअन्तर्गत लायन्स क्लब अफ हेटौँडा डिभाइनको आयोजनामा सप्ताहव्यापी सेवा कार्यक्रम आजबाट सुरु गरिएको हो।
सेवा सप्ताहको पहिलो दिन हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित थाहा कृषि बाटिकाको गौशालामा गाई भोजन कार्यक्रम आयोजना गरी औपचारिक शुभारम्भ गरिएको छ। कार्यक्रमको संयोजन अरुणराज सुमर्गीले गर्नुभएको कार्यक्रममा एमजेएफ अङ्किता सुमर्गी (सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर) को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लायन्स क्लब अफ हेटौँडा, बिन्दाबासिनी, बनस्थली, त्रिवेणी, चुरियामाई, डिभाइन गोल्ड, डिभाइन प्लेटिनियम, सूर्योदय, यंग ग्यालेक्सी, युनिफाइड तथा सूर्योदय राइजिङ सह–आयोजकका रूपमा रहेका छन्।
यसैबीच साँझ लायन्स क्लब अफ हेटौँडा डिभाइन गोल्डको सहकार्यमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित वृद्धाआश्रममा रात्रीकालीन भोजन कार्यक्रम आयोजना गरिएको छ। सेवा सप्ताहअन्तर्गत स्वास्थ्य, सरसफाइ, पशु संरक्षण, युवा सचेतना तथा भोकमरी निवारणसम्बन्धी विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम तालिकाअनुसार सीएमसी चुरेहिलमा निःशुल्क मधुमेह (डायबेटिज) परीक्षण, बालबालिकालाई लक्षित ‘गुड टच, ब्याड टच’ सचेतना कार्यक्रम, गोरेश्वर मन्दिर तथा भुटनदेवी मन्दिर परिसर सरसफाइ, वन विज्ञान क्याम्पसमा युवा सचेतना कार्यक्रम तथा अन्तिम दिन एरिया–२ अन्तर्गत भोकमरी राहत कार्यक्रम र दीप प्रज्वलन गरिने छ।







