हेटौंडा, १९ कार्तिक/आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आचार संहिता सहकारीलाई पनि लागू भएको छ । अब सहकारी संघ/संस्थाको साधारण सभा निर्वाचन अघि गर्न नपाउने भएको छ । सहकारीको साधारण सभा नगर्न निर्देशन जारी भएको एक सहकारीकर्मीले जानकारी दिए ।
आज शनिबारको लागि तय भएको साधारणसभा केही सहकारी संस्थाले सम्पन्न गरे भने केहीले आचारसंहिता लागू भएको भन्दै पछाडी धकेलेका छन् । हेटौंडा- ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा शुरू हुनु एक घण्टा अघि मात्रै आचार संहित लागू भएको जानकारी प्राप्त भएकोले सदस्यहरूको उपस्थितिमा मात्र साधारणसभा सम्पन्न गरेको छ । सहकारीको प्रतिवेदन उपर आफ्नो राय सुझाब भए एक हप्ता भित्र लिखित राय पेश गर्ने गरी साधारणसभा सम्पन्न भएको संस्थाका अध्यक्ष जंगबहादुर गुरुङले जानकारी दिए । साधारणसभा प्रदान गर्ने सम्मान तथा पुरस्कार सहकारीले पौष १५ गते वार्षिकोत्सवको अवसरमा प्रदान गर्ने छ ।
२ हजार १ सय ६८ जना शेयर सदस्य आवद्ध रहेको नारायणी बहुउद्देश्यीयको शेयर पूँजी ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने निक्षेप संकलन २३ करोड ४८ लाख ७७ हजार रुपैयाँ रहेको छ ।








