हेटौँडा, हेटौँडा उपमहानगरपालिका–११ डाङडुङ्गेमा रहेको क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख अतिथि रहनुभएको थियो ।
१२७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आर्थिक वर्ष ०८१/०८२ मा २ करोड २५ लाख ९ हजार ७ सय ५८ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाका व्यवस्थापक देवकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा सहकारीले २ लाख २९ हजार ४ सय ९१ लिटर दूध संकलन गरी विक्री गरेको छ ।
साधारणसभामा नियमित दूध खरिद गर्ने र गुणस्तर दूध विक्री गर्ने किसानलाई सम्मान गरेको छ । नियमित रुपमा दुध खरिद गर्नेमा रमा श्रेष्ठ, उत्तमप्रसाद पण्डित, शेखर मैनाली, नवराज अर्याल, सुवास ढकाल, खमबहादुर जर्गा, जच्चु चौधरी र दिलकुमारी आले मगर रहेका छन् । त्यस्तै गुणस्तर दूध विक्री गर्नेमा पार्बति नेउपाने, पूर्णकुमारी बस्नेत प्रथम (२१ हजार २५५ लिटर), विएस कृषि तथा पशुपन्छि फर्म दोस्रो (८८३० लिटर), चन्द्रावती थापा (८२०७ लिटर) तेस्रो भएका छन् भने सान्त्वनामा सावित्री हुमागाई (७१६६ लिटर), मालती सापकोटा (७६४८ लिटर) रहेका छन् । सम्मानित हुनेलाई सहकारीले क्याल्सियम, जुगाको औषधी र दानाको बोरा प्रदान गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष पुडासैनीले वार्षिक प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णप्रसाद खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।






