हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू आज अपराह्नसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा पुग्ने भएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सोमबार अपराह्नसम्म मतदानमा खटिने सम्पूर्ण जनशक्तिलाई आ–आफ्नो केन्द्रमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको हो।
जिल्लाका दुर्गम तथा विकट क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा भने केही दिनअघि नै सुरक्षाकर्मीसहितको टोली पुगिसकेको छ। यातायात सुविधा उपलब्ध भएका स्थानहरूमा सोमबार अपराह्नसम्म केन्द्रमा पुगेर आवश्यक तयारी पूरा गर्न आयोगले निर्देशन दिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार मतदानमा खटिएका कर्मचारीहरूले बेलुकासम्म मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी केन्द्र रहेको हाता स्पष्ट देखिने गरी सूचना टाँस्नुपर्नेछ। यसबाट मतदान हुने क्षेत्रको सीमाना सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने अपेक्षा गरिएको छ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरूले मतपत्रलगायत निर्वाचन सामग्री बुझ्ने व्यवस्था मिलाइएको छ। मतदान सम्पन्न नहुन्जेलसम्म कर्मचारी र सुरक्षाकर्मीहरूको टोली सँगसँगै रहनेछ।
मतदान अधिकृतको जिम्मामा रहने मतपत्रलगायत सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्नेछ। सुरक्षा निकायलाई निर्वाचन सामग्री र कर्मचारीको २४सै घण्टा निगरानी गर्न तथा कुनै पनि अवस्थामा साथ नछाड्न निर्देशन दिइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभर कर्मचारी तथा सुरक्षाकर्मीको पूर्ण परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत ४० वडा रहेका छन्। यस क्षेत्रमा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र छन्। त्यस्तै, क्षेत्र नम्बर २ मा ६२ वडा, १०५ मतदान स्थल र १९६ मतदान केन्द्र कायम गरिएको छ। यसबाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा एक मतदान केन्द्र तथा कर्मचारीका लागि हेटौँडामा अस्थायी मतदान केन्द्र रहनेछ।
जिल्लामा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेको छ। क्षेत्र नम्बर १ मा ७९ हजार ६२१ पुरुष, ७८ हजार ८१० महिला र ४ अन्य गरी १ लाख ५८ हजार ४३५ मतदाता छन्। क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र १ अन्य गरी १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।






