हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिनिधिसभा निर्वाचनका क्रममा सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरेको छ।

निर्वाचन सुरक्षाका लागि विभिन्न स्थानबाट छनोट गरी खटाइएका प्रहरीलाई बिहीबार हेटौंडाको हुप्राचौरमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरिएको हो। बिदाइ कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। उनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको सेवामा सदैव तयार रहन आग्रह गरे।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको ठूलो योगदान रहेको बताए। उनले नियमित प्रहरी मात्र नभई निर्वाचनका लागि खटिएका प्रहरीको सक्रिय सहकार्यका कारण जिल्लामा मतदान प्रक्रिया व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न भएको उल्लेख गरे।
खत्रीले निर्वाचन अवधिभर सुरक्षाको जिम्मेवारी सम्हाल्दै अनुशासित ढंगले काम गरेकोमा सबै प्रहरीप्रति आभार व्यक्त गरे। उनले प्राप्त अनुभवले आगामी दिनमा पनि सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाईलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। सहभागीहरूले निर्वाचनमा खटिएका प्रहरीलाई सम्मान व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सुरक्षाकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए।
निर्वाचन सम्पन्न भएसँगै जिल्लामा खटिएका निर्वाचन प्रहरीलाई क्रमशः फिर्ता पठाउने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






