हेटौँडा, ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं । राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारासहित विश्व क्षयरोग दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरको आयोजनामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा हेटौँडा–४ स्थित आमसाई स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मन्त्री वादेले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क उपलब्ध रहेको उल्लेख गर्दै रोगको समयमै पहिचान गरी उपचारमा लाग्न सबैलाई आग्रह गरे।
उनले धुम्रपान तथा मद्यपानबाट टाढा रहन, पोषणयुक्त आहार सेवन गर्न, बालबालिकालाई तोकिएको समयमा बीसीजी खोप लगाउन तथा संक्रमण अरूमा फैलिन नदिन सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए। साथै, लगातार खोकी लाग्ने, खोकीमा रगत देखिने, अस्वाभाविक रूपमा तौल घट्ने, फोक्सोमा पीडा महसुस हुने र ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन उनले अनुरोध गरे।
श्वासप्रश्वासमार्फत सजिलै सर्ने क्षयरोग विशेषगरी मधुमेह, एचआईभी संक्रमित, मृगौला प्रत्यारोपण गरेका तथा क्यान्सरजस्ता रोगका कारण प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा छिटो फैलिने जोखिम रहेको पनि कार्यक्रममा जानकारी दिइयो।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरका अध्यक्ष सजनलाल प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार ज्योतीरत्न बज्राचार्य, विजेन्द्र अग्रवाललगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमबारे जानकारी संस्थाका सचिव गंगाप्रसाद पौडेलले दिएका थिए।






