हेटौँडा,सिस्नुपानी नेपाल मकवानपुरले स्रष्टा सम्मान तथा हास्यव्यङ्ग्य प्रतियोगितात्मक प्रहसन कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्याएका सर्जकहरूलाई सम्मान गर्ने तथा विद्यार्थीहरूमा सिर्जनशीलता र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमअन्तर्गत यस वर्ष ‘गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२’ बाट सर्जक नरनाथ लुइँटेललाई सम्मान गरिने भएको छ। सिस्नुपानी नेपाल तथा हास्यव्यङ्ग्य अनलाइन ‘फित्कौली डटकम’मा आबद्ध लुइँटेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलले जानकारी दिए।
त्यसैगरी, ‘आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान’बाट हास्यव्यङ्ग्य कलाकार तथा स्ट्यान्ड–अप कमेडियन सीता न्यौपानेलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिनेछ। आगामी वैशाख १९ गते हेटौँडामा आयोजना हुने कार्यक्रममा दुवै स्रष्टालाई सम्मान गरिनुका साथै हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन पनि सञ्चालन गरिनेछ।
प्रतियोगितामा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रत्येक समूहमा विद्यालयको सिफारिस पत्रसहित न्यूनतम २ जना र अधिकतम ५ जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
प्रहसन प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ, तृतीय हुनेलाई ७ हजार रुपैयाँ तथा प्रोत्साहन पुरस्कारस्वरूप ४ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ।







