बागमती प्रदेशले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

हेटौँडा, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु खर्च र पुँजीगत खर्चलाई प्राथमिकताका साथ विनियोजन गरिएको जानकारी दिएका हुन्।

ADVERTISEMENT

प्रस्तुत बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) तथा पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ राजस्व बाँडफाँड तथा आन्तरिक राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने अनुदानबापत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी, सञ्चित कोष तथा विविध बचतबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ। बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट प्राप्त हुने ९६ करोड रुपैयाँबाट व्यवस्थापन हुने सरकारको अनुमान छ।

प्रादेशिक संरचना निर्माणका लागि ५६ करोड

प्रदेश सरकारले राजधानीका स्थायी संरचना निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षका लागि एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए।

हेटौँडा उपमहानगरपालिका–१७ मा निर्माण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको एकीकृत प्रादेशिक संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया संघीय सरकारसँग टुंगो लागिसकेको जनाइएको छ। प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनामार्फत संरचना निर्माणको काम अगाडि बढाइएको छ।

विपन्न परिवारका लागि आवास कार्यक्रम

बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेशभरका अतिविपन्न परिवारलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त कार्यक्रमका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ। कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर र आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने लक्ष्य सरकारको रहेको छ।

सरकारले आगामी बजेटमार्फत पूर्वाधार विकास, सामाजिक सुरक्षा, आवास, रोजगारी तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकतामा राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *