विद्यार्थीलाइ व्यावसायिक सीप आवश्यक छ : वडा अध्यक्ष सिग्देल

हेटौंडा, विद्यालयबाट नै विद्यार्थीलाई व्यावसायिक सीप प्रदान गर्नुपर्ने हेटौँडा–४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले बताउनुभएको छ। हेटौँडा–४ नं. वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा सञ्चालित विद्यार्थी उद्यमशीलता कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावसायिक सीप प्रदान गरी दक्ष, व्यावसायिक, स्वरोजगार र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो।

ADVERTISEMENT

उहाँले सीपविना सैद्धान्तिक ज्ञानले मात्र आजको प्रतिस्पर्धात्मक समयमा व्यक्ति तथा समाजका आवश्यकता पूरा गर्न कठिन हुने उल्लेख गर्नुभयो। स्थानीय सरकारको मातहतमा विद्यालय आइसकेकाले विद्यालयस्तरबाटै व्यावसायिक सीप प्रदान गर्न स्थानीय सरकारले थप ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमअन्तर्गत वडा नं. ४ भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई कपाल काट्ने, ब्युटी पार्लर र इलेक्ट्रिकल सम्बन्धी तालिम प्रदान गरिएको थियो। कपाल काट्ने २५ जना, ब्युटी पार्लर २५ जना र इलेक्ट्रिकलतर्फ २५ जना गरी कुल ७५ जना विद्यार्थी तालिममा सहभागी भएका थिए।

हप्ताको दुई दिन विदालाई सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिम अत्यन्त उपयोगी तथा आवश्यक रहेको प्रशिक्षार्थीहरूको भनाइ रहेको थियो। सहभागीहरूले पढाइसँगै नियमित रूपमा यस्ता तालिम सञ्चालन गरिए विद्यार्थीहरू थप व्यावसायिक बन्न सक्ने बताएका थिए।

कार्यक्रममा श्रमिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं तथा भुटनदेवी माविका प्रधानाध्यापक सूर्य घिमिरेको उपस्थिति रहेको थियो। शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा कार्यक्रम संयोजकलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *