पुर्नस्थापनाले फेरिएको जीवन: यौनिक तथा अल्पसंख्यक समुदायकी नुरा लामाको प्रेरणादायी यात्रा

हेटौंडा, हेटौंडा उपमहानगरपालिका १५ निवासी २६ वर्षीया नुरा लामा जो यौनिक तथा अल्पसंख्यक समुदायकी सदस्य हुन् , आज आफ्नो जीवनको कठिन अध्याय पार गर्दै पुनःस्थापनापछि नयाँ आशा र आत्मविश्वासका साथ समाजमा योगदान गरिरहेकी छन्।

ADVERTISEMENT

नुराले २०७६ सालदेखि साथीहरूको संगतमा नाइट्रोभेट (Nitrovat) जस्ता लागूऔषधको प्रयोग सुरु गरिन्। समयसँगै उनी खैरो हेरोइन (Brown sugar) को गहिरो लतमा फसिन्। समाजमा आफ्नो पहिचानका कारण हुने लाञ्छना, गिज्याइ र विभेदका कारण बाहिर निस्कनसमेत डर लाग्ने अवस्था सिर्जना भएको उनी बताउँछिन्। त्यही मानसिक पीडा र समाजसँग सामना गर्ने साहस जुटाउन नसक्दा उनले लागूऔषधलाई नै सहाराको रूपमा प्रयोग गर्दै गइन्।

उनको जीवनको सबैभन्दा पीडादायी घटना भनेको खैरो हेरोइन सेवनपछि लगातार दुई दिनसम्म अचेत भएर सुतिरहनु थियो। तेस्रो दिन घरबेटीले प्रहरी बोलाएर उठाएको त्यो घटना उनले जीवनभर नभुल्ने बताउँछिन्।

ADVERTISEMENT

पढाइमा राम्रो हुँदाहुँदै पनि उनले मकवानपुर बहुमुखी क्याम्पसबाट +२ अध्ययनलाई निरन्तरता दिन सकिनन्। आफ्नो वास्तविक पहिचानप्रतिको लाज, सामाजिक विभेद र मानसिक दबाबका कारण उनले पढाइ बीचमै छोड्नुपरेको थियो।

जीवनमा परिवर्तन ल्याउने दृढ संकल्पका साथ नुरा २०८२ साल माघ ४ गते ब्लु डायमण्ड सोसाइटी र रिकभरिङ नेपालको आर्थिक सहयोग तथा सिआन पुर्नस्थापना केन्द्रको सहजीकरणमा सञ्चालित सिआन महिला पुर्नस्थापना केन्द्रमा उपचारका लागि भर्ना भइन्। उपचार र मनोसामाजिक सहयोगपछि उनले लागूऔषधमुक्त जीवनतर्फ नयाँ यात्रा सुरु गरिन्।

हाल उनी सिआन महिला पुर्नस्थापना केन्द्रमै कर्मचारीको रूपमा कार्यरत रहँदै उपचाररत दिदीबहिनीहरूको सेवा, हेरचाह र पुनःस्थापनामा सक्रिय योगदान दिइरहेकी छन्। आफू पनि सहयोग खोज्दै पुनःस्थापनामा आएको र अब लागूऔषधसँग जीवन बिताउन नसकिने निष्कर्षमा पुगेपछि परिवर्तन सम्भव भएको उनी बताउँछिन्।

नुराका अनुसार, फरक यौनिक तथा लैङ्गिक पहिचान भएको भए पनि सिआन परिवारले आफूलाई कुनै विभेद नगरी अपनत्व दिएको छ। “सिआनले मलाई दोस्रो जन्म दिएको महसुस भएको छ। यहाँ आएपछि फेरि बाँच्ने साहस र जीवनप्रतिको आशा प्राप्त गरेँ,” उनी भावुक हुँदै भन्छिन्।

उनले राज्यले यौनिक तथा अल्पसंख्यक समुदायका लागूऔषध प्रयोगकर्ताहरूका लागि पनि पहुँचयोग्य र समावेशी पुनःस्थापना सेवामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएकी छन्। साथै, आगामी दिनमा पनि सिआन महिला पुनःस्थापना केन्द्रमार्फत यही अभियानमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

समाजका लागि उनले एउटा महत्वपूर्ण सन्देश पनि दिएकी छन्:

“म यौनिक तथा अल्पसंख्यक समुदायको एक सदस्य भएर परिवर्तन गर्न सकेँ भने, मेरो समुदायका अन्य साथीहरूले पनि अवश्य सक्छन्। सहयोग लिन कहिल्यै नहिचकिचाउनुहोस्। पुनःस्थापना सम्भव छ, नयाँ जीवन सम्भव छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya