हेटौँडा, हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा यस वर्ष छठ पर्वको रौनक बढेको छ । छठ पूजाका लागि राप्ती तटमा ६५ वटा पण्डाल निर्माण भइरहेका छन् भने घाट निर्माण, सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । आयोजकले यस वर्ष ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेको छ ।
संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरको आयोजनामा तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा छठ पूजाको तयारी भइरहेको हो । संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासका अनुसार सामूहिक पूजाका लागि २० फिट चौडाइ र सात सय फिट लम्बाइका ६५ वटा पण्डाल निर्माण भइरहेका छन् । व्रतालु तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्न टेन्ट र पण्डालको व्यवस्था मिलाइएको छ ।
खोलामा आवतजावत सहज बनाउन मुख्य तथा सहायक प्रवेशद्वार निर्माण गरिएका छन् । हेटौँडा बजारको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती जडान गरी क्षेत्रलाई आकर्षक बनाउने तयारीसमेत गरिएको छ ।
घाट निर्माण तथा व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत खटिएका छन् । छठका दिन राप्ती तटमा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले सुरक्षा र आवागमन व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको सचिव दासले बताउनुभयो ।
सूर्यलाई अर्घ्य दिन व्रतालुहरू खोलामा प्रवेश गर्नुपर्ने भएकाले सहज आवतजावतका लागि आवश्यक व्यवस्था मिलाइएको छ । त्यसैगरी, हेटौँडा अस्पताललगायत स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा भक्तजनका लागि पिउने पानीको व्यवस्था गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।
पछिल्लो समय हेटौँडामा छठ पर्वको महत्त्व र आकर्षण बढ्दै गएको छ । केही वर्षअघिसम्म मुख्यतः मधेशी समुदायमा सीमित रहेको यो पर्व अहिले पहाडी समुदायका हिन्दु धर्मावलम्बीले पनि उत्तिकै उत्साहका साथ मनाउन थालेका छन् । एउटै घाटमा विभिन्न समुदायका मानिसको सहभागिताले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, एकता र सांस्कृतिक सहअस्तित्वको सन्देशसमेत प्रवाह गरिरहेको छ ।
छठको तयारीसँगै हेटौँडा बजारमा पूजासामग्रीको किनमेल पनि बढेको छ । पर्वका लागि आवश्यक केरा, नरिवल, उखु, अदुवा, विभिन्न फलफूल तथा मिठाईको जोहो गर्न व्रतालुहरू व्यस्त देखिएका छन् । बाँस र माटोबाट बनेका परम्परागत पूजासामग्रीको मागसमेत बढेको छ । छठमा चढाइने ठेकुवा, भुसुवालगायत परम्परागत प्रसाद तयार गर्ने चटारो पनि सुरु भएको छ ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको छ । पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गरेर पर्वको सुरुआत गरेका छन् । दोस्रो दिन शनिबार खरना विधि गरिन्छ । यस दिन दिनभर उपवास बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । त्यसपछि रातभर जाग्राम बसेर चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।







