मकवानपुरमा कुनै अन्तरघात भएको छैन : लामा


हेटौंडा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा कुनै अन्तरघात नभएको दावी गरेका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय हेटौंडामा फरक बिषयलाई लिएर आयोजना भएको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले अन्तरघात नभएको दावी गरेका हुन् ।

‘अहिलेसम्म अन्तरघातको बिषयमा कुनै ठोस प्रमाण पाएका छैनौं । हामी बुझ्दैछौं । अन्तरघात भएको पाइएमा कारबाही हुनेछ’, सभापति लामाले भने । मकवानपुरमा थपिएका नयाँ मतदाताले नयाँ उम्मेदवारलाई मतदान गरेकोले कांग्रेसका उम्मेदवारले हार व्यहोरेको उनको भनाई थियो । मकवानपुरको क्षेत्र नम्बर १ को ग्रामीण क्षेत्रबाट गठबन्धनलाई मत आएपनि बजार क्षेत्रबाट सोचेजति मत नआउँदा हार व्यहोर्नुपरेको बताएका हुन् । ‘

बजारमा सचेत नागरिकको बसोबास, थपिएका नयाँ मतदाताले नयाँ उम्मेदवारलाई मत हालेको, घण्टीको प्रभाव, स्थानीय तहमा राप्रपाले पाएको मत लगायतका कारणले हामी हार्यौं’, सभापति लामाले भने, ‘प्रदेशसभाका उम्मेदवारलाई सोचेको जति मत आएपनि प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई सोचेको जति भोट आएन ।’ क्षेत्र नम्बर २ मा भने गठबन्धनमै समस्या देखिएको उनको भनाई थियो । ‘बाम गठबन्धन हुँदै करिब १४ सय मतान्तरले ईन्द्रबहादुर बानियाँले जितेको क्षेत्रमा अहिले लोकतान्त्रिक बाम गठबन्धन हुँदा जम्मा १७ सय मतान्तरले मात्रै जितियो । यस क्षेत्रमा गठबन्धनमै समस्या देखियो । समस्याको बिषयमा पक्कै छलफल र छानबीन हुनेछ ।’ गठबन्धनको बैठक बस्न नसकेको जानकारी दिँदै उनले छिट्टै बैठक बस्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button