स्वतन्त्रका जिल्ला सभापति न्यौपानेलाई कारबाहीको माग

हेटौंडा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई कारबाहीको माग गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ताले जिल्ला सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यसमितिलाई पत्र लेखेका छन् । पार्टीका मकवानपुर सभापति न्यौपानेलाई कारबाही नभए पार्टी छाड्ने सम्मको चेतावनी नेताहरुले दिएका छन् ।

ADVERTISEMENT

मकवानपुर १ को उम्मेदवार बनेका प्रदेश कोषाध्यक्ष टाकाराज थापा, मकवानपुर २ का उम्मेदवार भरत पराजुलीसहितका करिब ५० जना नेताहरुले न्यौपानेलाई कारबाही नगरे पार्टी छाड्ने घोषणा गरेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभन देखाएर फरक पार्टीको उम्मेदवारको घरमा लगेर मिटिङ गराएको उनीमाथि आरोप छ । न्यौपानेले प्रजालाई लिएर मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’का उम्मेदवार कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँलाई भेटाएको आरोप लगाइएको छ ।

पार्टीको समिक्षा बैठकमा स्वयम् प्रजाले नै सो बिषयमा जानकारी गराएपछि स्वतन्त्र पार्टीमा विवाद सुरु भएको हो । यस्तो कार्य गर्ने सभापतिबाट आगामी दिनमा पनि संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने भन्दै नेताहरुले जिल्ला सभापतिलाई कारबाहीको माग गरेका हुन् । न्यौपानेलाई कारवाही माग गर्दै आइतबार करिब ५० जना नेता कार्यकताले हस्ताक्षर गरेको निवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाएको छ । स्वतन्त्र पार्टी तथा परिवर्तनको पक्षमा लाग्न चाहनेहरुलाई निराशा पैदा भएकोले कारवाही हुनुपर्ने पत्रमा लेखिएको छ । यता स्वतन्त्र पार्टीका जिल्ला सभापति न्यौपानेले किर्ते हस्ताक्षर संकलन गरेर आफ्नो बदनाम गर्न खोजिएको प्रतिक्रिया दिए । केन्द्रमा रवि लामिछानेको बदनाम गर्न खोजिएजस्तै जिल्लामा आफू विरुद्ध केही व्यक्ति लागेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *