हेटौंडा,नेपाल सरकारले यसवर्षको संस्थातर्फको मानव अधिकार पुरस्कार मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ । सरकारले मानव अधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानव अधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानव अधिकारको सम्मान संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पुरस्कार दिँदै अएको छ ।
यसवर्ष व्यक्तितर्फ प्रा.डा. कपिलमान श्रेष्ठलाई र संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । मानवसेवा आश्रमले सडकपेटी तथा अन्य सार्वजनिक स्थलबाट सहयोगापेक्षी मानिसहरुको उद्दार, पालनपोषण एवम् हेरचाह गर्दै आएको छ । मानवसेवा आश्रमले असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्दार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापन लगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा योगदान पुर्याएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्दार गरिसकेको छ । झण्डै एकहजार व्यक्तिलाई उनीहरुका परिवारमा पुनर्मिलन समेत गराएको छ ।
मुख्य कार्यालय हेटौंडामा रहेको मानवसेवा आश्रमको हालः काठमाडौं सहित १९ जिल्लामा २३ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । आश्रममा अहिले पनि एकहजार ६ सय सहयोगापेक्षी व्यक्तिहरु आश्रित रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । आश्रमले २०८२ सालसम्म मुलुकका सडकपेटीमा बेसहारा तथा वेवारिसे व्यक्तिहरु नरहने अवस्था निर्माण गर्न लक्ष्यका साथ काम गरिरहेको छ । सरकारले यस बर्षको मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णयले खुसी मिलेको अध्यक्ष अधिकारीले प्रतिक्रिया दिए । ‘हुन त हामीले कुनै सम्मान पुरस्कारका लागि यो काम गरेका होइनौं’, उनले भने, ‘नेपाललाई नै सडक मानवमुक्त बनाउने महान अभियानका साथ अघि बढेका छौं । राज्य तथा गैरसरकारी निकायबाट बेलाबखत प्राप्त हुने सम्मान तथा पुरस्कारले थप हौसला मिल्ने गरेको छ ।’ अक्षयकोष स्थापना तथा अधुरा कार्य पूरा गर्ने उद्देश्यसहित अहिले मानवसेवा आश्रमको आयोजनामा देशव्यापी नेपथ्य ब्याण्डको कन्सर्टको आयोजना भैरहेको छ ।







