हेटौंडा/मकवानपुर जिल्लाका दुई स्थानीय तहहरू हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच गुणस्तरीय शिक्षा हासिल गराउन सहमतिपत्रमा हस्ताक्षर भएको छ हो । जिल्लाको संस्थागत तथा सामूदायिक विद्यालयको गुणस्तरीय शिक्षा हासिल गर्न गराउन सरोकारवालाहरू बिच १६ बुदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
शैक्षिक सरोकारवाला संघ, स·ठनहरूको अनिवार्य सहभागितामा उपमहानगर तथा गाउँपालिकास्तरीय शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल गर्न सहमत हुँदै बजेट निर्माण तथा पालिकाको शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व शिक्षकका संघ, संगठनहरूसँग छलफल गरिने, यस्तो बैठक र संवाद वर्षमा कम्तीमा दुई पटक गरिने, अनिवार्य, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका पेसागत समस्या हल गर्नका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाइने सहमति भएको हो ।
यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गरिने, पालिकाभित्र सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गरिने,पालिकाभित्र बसोबास गर्ने कुनै पनि बालबालिकालाई विद्यालयीय तहको शिक्षा आर्जन गर्नबाट वञ्चित नगरिने सहमति भएको हो ।
यसैगरी विद्यालयमा प्रदान गरिँदै आएको दिवा खाजालाई अझ व्यावहारिक, पोषणयुक्त र पर्याप्त बनाइने,बालमैत्री, अपा·मैत्री तथा महिलामैत्री विद्यालय बनाउनका लागि लगानीमा वृद्धि गरिने,प्रविधिमैत्री विद्यालय, पोसाक, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिइने सहमति भएको हेटौंडा मेयर मिना लामाले बताइन । संवैधानिक व्यवस्थाअनुसार संघीय र प्रदेश शिक्षा ऐनसँग अनुकूल हुने गरी समयसापेक्ष, शिक्षक र विद्यार्थीमैत्री शिक्षा ऐन, नियमावली ल्याइने, आपतकालीन सिकाइलाई निरन्तरता र गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षकहरूलाई प्रविधि प्रशिक्षण र आवश्यक पेसागत विकास तालिम प्रदान गरिने, बजेट निर्माणमा स्थापित चरण र प्रक्रियाको पालना गर्दै विद्यालय विकासका लागि आवश्यक बजेट विनियोजन गरिने भएको छ ।
यसअघि यी पालिकाभित्र वसोवास गर्ने निम्न आय भएका विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क उच्च शिक्षा अध्ययनका लागि गरिएको व्यवस्थालाई निरन्तरता दिइने, शिक्षक सुत्केरी बिदामा बस्दा पठनपाठनको निरन्तरताका लागि बिदा अवधिको समयमा विद्यालयमा स्वयमसेवक शिक्षकको व्यवस्था गरिने भनिएको छ । सहमति पत्र अनुसार १० वर्षे शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइनेछ । यसैगरी भयरहित सिकाइ वातावरण निर्माणका लागि आवश्यक वातावरण निर्माण गरिने, जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग लड्दै पर्यावरणमैत्री शैक्षिक वातावरण निर्माणका लागि कदम चालिने भनिएको छ । सहमति पत्रमा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोेर्जे लामा स्याङतान, नेपाल शिक्षक महासंघका जिधराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, इष्टु मकवानपुरका अध्यक्ष सचिन लामाले हस्ताक्षर गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिको आयोजनामा हेटौंडामा भएको दुईदिने छलफल गरी सहकार्यस्वरुप जिल्लामा रहेका दुई स्थानीय तहहरु हेटौंडा उपमहानगरपालिका र मकवानपुर गाउँपालिकासँग सहमति पत्र हस्ताक्षर गरिएको हो । संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्वि कार्यशाला हेटौंडामा दुईदिन सञ्चालन भएको थियो । संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।






