हेटौंडा, साहित्य सिर्जनातर्फ झुकाव राख्ने मकवानपुरे विद्यार्थीहरु पछिल्लो समय पुस्तक विमोचनतर्फ पनि आकर्षित भएका छन्। गत साउन महिनामा समृद्धि देवको कविता सङ्ग्रह ‘इन्द्रेणीका रङहरु’, मङ्सिर महिनामा ऋत्विक केविको ‘कोरिएका धर्साहरु’ र माघ १ गते समर्पण न्यौपानेको ‘अभियुक्त समय’ किताब विमोचन भएको छ ।
हेटौडा स्कूल अफ म्यानेजमेन्टमा अध्ययनरत गर्ने क्रममा समृद्धिले १७ वर्षकै उमेरमा कविता सङ्ग्रह ‘इन्द्रणीका रङहरु’ विमोचन गरेकी थिइन् । उनीको कविता सङ्ग्रह नवोदय साहित्यिक बगैँचा बाल क्लवले प्रकाशन गरेको थियो । उनीले रचना गरेको २३ वटा कविताहरु उक्त किताबमा रहेका थिए ।
त्यसैगरी मङ्सिर महिनामा हेटौंडा–२ मा रहेको बालजागृति अङग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र ऋत्विक के.बीको पहिलो कविता सङ्ग्रह ‘कोरिएका धर्साहरू’ विमोचन गरेका थिए । उनका माता पुण्यशिला श्रेष्ठ प्रकाशक रहेको कविता सङ्ग्रहमा २४ वटा कविताहरु रहेका छन् । १६ वर्ष उमेरमा नै ऋत्विकले कविता सङ्ग्रह प्रकाशन गरेका थिए ।
यसैगरी माघ १ गते आइतबार १४ वर्षीय समर्पण न्यौपानेको ‘अभियुक्त समय’ किताब विमोचन भएको थियो ।
न्यौपाने नवसर्जक साहित्य चौतारी नेपालका महासचिव तथा हेटौंडा ५ जीएस निकेतन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र हुन् । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिको आयोजनामा आइतबार न्यौपानेको अभियुक्त समय किताब विमोचन हुनुको साथै विमर्स पनि गरिएको थियो । कार्यक्रममा साहित्यकार भावना सापकोटा र समालोचक घनश्याम घिमिरेले कृतिको समिक्षा गरेका थिए ।