हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही २३ गतेसम्म टिसीएनको चौरमा हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उत्पादक तथा उपभोक्ताबीच सोझो सम्पर्क कायम गर्ने, आन्तरिक तथा बाह्य पर्यटकीय विकास गर्ने, गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, स्थानीय वस्तु तथा उत्पादनको बजार प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए । मेलामा बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योग र स्थानीय तथा राष्ट्रिय उत्पादन एवम् सेवाको व्यापार, क्रेता र विक्रेता अन्तरक्रिया, स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमीनार, खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रबद्र्धनका साथै वाल उद्दान रहने छ ।
महोत्सवलाई करिब २ लाख भन्दा बढीले अवलोकन गर्ने र २० देखि २५ करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष अग्रवालले बताए । जिल्लाका प्रतिभा प्रस्फुटनका लागि गायन प्रतिस्पर्धा हेटौंडा आइडल र नृत्य प्रतिस्पर्धा डान्सिङ स्टारको समेत आयोजना हुनेछ भने दुलही श्रृङ्गार प्रतियोगिता समेत हुनेछ । महोत्सवमा ३३७ वटा स्टल रहेको छ । मेलामा पाइने सामग्रीको मुख्य बजारको भन्दा बढी तिर्नु नपर्ने दावी गरिएको छ । यस्तै राष्ट्रिय कलाकारहरुको प्रश्तुती समेत रहने जानकारी दिइएको छ ।







