हेटौंडा/ न्यू कम्बाइन क्लवले यही माघ १४ गतेबाट गर्ने तयारी गरेको दोस्रो एनसिसी खुला फुटबल प्रतियोगिता फागुन २० गतेबाट हुने भएको छ । आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति करिब एक महिना पछि धकेलिएको जानकारी दिएको हो ।
स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको आयोजक संस्था मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य समेत रहेका कम्बाइन क्लवका अध्यक्ष सचिन राईले गोल्डकपका लागि प्रतियोगिता सारिएको जानकारी दिए । ‘यही माघ १४ गतेबाट हामीले खुला फुटबल प्रतियोगिता गर्ने तयारी गरेका थियौं । गोल्डकपको तयारीमा लाग्नुपर्ने र फुटबल संघका अध्यक्षसहितका पदाधिकारीले हाम्रो प्रतियोगिता सार्न अनुरोध गरेकोले फागुन २० गतेबाट गर्ने भएका छौं’, राईले भने, ‘प्रतियोगितामा जिल्लाका क्लवहरुलेल सहभागिता जनाउन सक्नेछन् ।’
पत्रकार सम्मेलनमा फुटबल संघका अध्यक्ष टीकाराम लामाले गोल्डकपका लागि क्लवले गर्न लागेको प्रतियोगिताको मिति सारेकोमा धन्यवाद ज्ञापन गरे । मकवानपुर जिल्लाका क्लवहरुको सहभागितामा हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वाधिक गोलकर्तालाई गोल बराबरको रकम, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने कम्बाइन क्लवका सचिव उमेश तितुङले जानकारी दिए ।
करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । पत्रकार सम्मेलनमा क्लवका पदाधिकारीसहित फुटबल संघ कोषाध्यक्ष अमृत लुङ्बा, कार्यसमिति सदस्य दिनेश चौलागाईं, आशिष थापा लगायत उपस्थित थिए ।






