हेटौंडा/हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा जिल्लास्तरीय पुरूष शिक्षक दौड प्रतियोगिता एवम् महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ । शहीद दिवसका दिन प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वडा कार्यालयले शिक्षा र खेलकुद क्षेत्रमा काम गरिरहेको बताए । सीमित आर्थिक स्रोत हुँदा पनि धेरै काम गरेको उनको दावी थियो । ४ नम्बर वडामा कभर्डहोल निमार्ण गर्नेदेखि भलिबल कोर्ट, एथ्लेटिक्स ट्रयाक निमार्ण वडा कार्यालयले गरेको उनले स्मरण गरे । शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले माघ १५ गतेभित्र प्रतियोगितामा सहभागी जनाउनेले नाम दर्ता गरिसक्नुपर्ने बताए ।
४ नम्बर वडा कार्यालयबाट दौड सुरू भएर पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आइपुग्ने बताइएको छ । दौड ३ किलोमिटरको हुनेछ । प्रतियोगिातमा प्रथमलाई ७ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार, चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार रहेको छ । यसैगरी स्लो स्कुटीमा प्रथम हुनेलाई ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार रहेको छ । दौडमा १५० जना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाई छ । प्रतियोगितामा संस्थागत र सामुदायिक विद्यालयका शिक्षक सहभागी हुनसक्ने
छन् । एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले प्रतियोगितामा प्राविधिक सहयोग रहने प्रतिबद्वता जनाए ।







