हेटौंडा विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ यही माघ २७ र २८ गते हेटौंडामा बाल साहित्य महोत्सव हुने भएको छ । हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सवमा भारत र पाकिस्तानका लेखकको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ । नवोदयले यसअघि दुई पटक बाल साहित्य महोत्सवको आयोजना गरिसकेको छ । यस पटकको महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको हो । भारत र पाकिस्तानमा बाल साहित्यको प्रवद्र्धनमा भएका अभ्यास र नेपालको अभ्यासबीच तुलनात्मक अध्ययन र अन्तरक्रियाका लागि छिमेकी मुलुबाट समेत सहभागी गराउन खोजिएको नवोदय शिशु सदनका निर्देशक दिपेश जोशीले बताए ।
नेपाली लेखक अनुराधा मार्फत मिश्र र हुसेन हेटौंडा आउन लागेको जानकारी दिइएको छ । भारतीय लेखक मिश्र वृत्तचित्र निर्देशक र पाकिस्तानी हुसेन कलाकार तथा शिक्षाविद् भएको आयोजकले बताएको छ । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी हुने विद्यार्थीमा कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि हुने आयोजकको विश्वास छ । कला, साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउनुका साथै नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना गर्न महोत्सवलाई निरन्तरता दिइएको विद्यालयका निर्देशक जोशीले बताए ।
दुईदिन हुने महोत्सवमा तीन हजार पाँच सय बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थिती रहने कार्यक्रमका संयोजक सीएम रिमालले जानकारी दिए । कार्यक्रम हेटौंडा ४ स्थित नवोदय शिशु सदन मावि परिसरमा आयोजना हुनेछ । महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।






