हेटौंडा, ९ फागुन/ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता सफल कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा भएको हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशहरुलाई सुविधा सम्पन्न बनाउनु पर्ने आजको आवश्यकता रहेको बताएकी हुन् ।
उनले संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने विरामी सेवा र विद्यार्थिहरुको शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषेश पहलको थादनी हुन जरुरी रहेको बताइन् । संविधानले व्यवस्था गरेको नागरिकहरुको मौलिक हक अन्तर्गतको गुणस्तरिय स्वास्थ्य सेवाको प्राप्तीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पु¥याउने विश्वास व्यक्त गरिन् । उनले रोग नलाग्नु मात्र स्वास्थ नभएको बताइन् । उनले जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढंगले नागरिकको घरदैलोमा पु¥याउन आयूर्वेद तथा वैकल्पीक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठुलो भूमिका रहने बताइन् । शारिरिक र मानसिक रुपमा तन्दुरुस्त एवम् सकारात्मक रहन सक्नु वास्तविक अर्थमा स्वास्थ भएको उनको भनाई छ ।
उनले गणस्तरिय स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पु¥याउनु राज्यको महत्वपूर्ण दायित्व बन्न गरेको बताइन् । जनस्वास्थको उच्चतम लक्ष्य हासिल गर्न, नागरिकको घर दैलोमा सामान्य औषधी तथा आधुनिक प्रविद्यीयुक्त विषेशज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेको उनले बताइन् । स्वास्थ्य सेवा संगै अनुसन्धानको क्षेत्रमा नविन कार्य गर्न सकेको खण्डामा जन नेता मदन भण्डारीको नाममा स्थापित प्रतिष्ठानको उद्देश्यले सार्थकता पाउने उनको भनाई छ ।
‘स्वस्थ व्यक्तिबाट मात्र स्वस्थ समाज, सुदृढ अर्थतन्त्र विकास, स्वाधीन आत्मनिर्भर र सवल राष्ट्रको निर्माण हुन सक्छ भन्ने यथार्थलाई कार्य रुप दिन संविधानले मौलिक अधिकारको रुपमा स्थापित गरेको हो ।’, उनले भनिन्, ‘प्रदेश राजधानी एवम् औद्योगिक नगरिको रुपमा रहेको हेटौंडामा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना हुनुले नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने छ भने अर्को तर्फ गुणस्तरिय स्वास्थ्य सेवा माध्यमबाट डाक्टर नर्स तथा स्वास्थ्यकर्मी तयार गर्न योगदान
गर्नेछ ।’
अस्पतालको भवन निर्माण हुनु खुशि र सन्तोषको विषय हो । अध्ययन अनुसन्धान र स्वास्थ्य सेवाको क्षेत्रमा आम नागरिकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य अनुसार जननेता मदन भण्डारीको नाममा स्थपित भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले काम गर्नु पर्दछ । राष्ट्रपति भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तले भवनको उद्घाटन गरेकी हुन् ।






