हेटौंडा, मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेबाट ५ क्विन्टल १२ किलो अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका ४ का ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाल रहेका छन् ।
उनीहरुको घरबाट ५ सय १२ किलो गाँजा र ५५ हजार ३६५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।
प्रहरीले राधाकृष्णको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८०० ग्राम र उत्तमको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो एकसय ग्राम गाँजा र नगद ५५ हजार ३ सय ६५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटेर गएको टोलीले उनीहरुलाई गाँजासहित पक्राउ परेको हो । दुवैजनालाई प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको कार्कीले बताए ।
मकवानपुर प्रहरीले सोमबार जिल्लाकै थाहा नगरपालिका–७ का डाअध्यक्षसहित तीनजनालाई विभिन्न परिमाणको लागूऔषध सहित पक्रेको थियो । मकवानपुरको थाहा नगरपालिकासहित राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध लागूऔषध गाँजा तथा चरेश खेती हुने गरेको छ ।







