हेटौंडा, हेटौंडा खानेपानी ब्यावस्थापन बोर्डद्वारा तीन दिनमै पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी बितरण गर्न सफल भएको छ । पानी नपरेर सूख्खायामसंगै हेटौंडामा पानीको समस्या बढ्न थालेपछी यसलाई मध्यनजर गरेर पानी उत्पादनमा बृद्धी गरिएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ भैसे व्यारेक अगाडीको रापती खोलामा समवेल निर्माण गरेर तीन दिनमानै थप पानी उत्पादन गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । तीन दिनको अवधिमा दश लाख रुपैयाँ लागतमा निर्माण गरिएको समवेलबाट प्रतिमिनेट १ हजार ५ सय लिटर पानी थप गरिएको उनले बताए ।
पानी नपरेका कारण पानीका लागि धेरै समस्या बेहोर्नुपरे पनि गएराती पानी परेकाले केही राहत मिलेको र अबका दिनमा भने केही सहज समेत भएको उनले बताए । नेपाली सेनासंग स्वीकृति लिएर हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले व्यारेक अगाडी रापती खोला नजिक समवेल निर्माण गरेको हो ।
तीन दिन सम्म निरन्तरको प्रयासपछी पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल संजय न्यौपानेले बताए । पानी नपरेर सुख्यायाम धेरै बढेपछी पानीको अभाब भएका क्षेत्रमा खानेपानी बोर्डले ट्याङकी मार्फत पानी वितरणको काम गर्दै आएको थियो ।






