हेटौंडा, राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको गाउँसभामा पालिका उपाध्यक्ष वनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान पेश गर्दै चालुु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १० करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो ।
राक्सिराङले चालू वर्षमा ६६ करोड रुपैयाँको बजेट ल्याएर विभिन्न् कार्यक्रम कार्यान्वयन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि संघीय र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटौती भएपछि बजेटको आकार पनि छटेको प्रमुख प्रशासकयि अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।
राक्सिराङले आगामी आर्थिक वर्षका लागि पुँजीगत तर्फ २४ करोड ५३ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सामाजिक विकास तर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ, शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ भौतिक पूर्वाधार तर्फ सडक, पुल तथा झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ९९ लाख रुपैयाँ, पूर्वाधार विकास तर्फ ७ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भवन तथा शहरी विकास तर्फ १ करोड ३० लाख रुपैयाँ, खानेपानी तर्फ १ करोड ६० लाख रुपैयाँ, स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ, कृषि तर्फ १ करोड ७२ लाख रुपैयाँ, विपद् व्यवस्थापन तर्फ ४० लाख रुपैयाँ, उद्योग, रोजगारी प्रवद्र्धन तर्फ २५ लाख रुपैयाँ, सञ्चार तथा सूचना प्रविधि तर्फ ३३ लाख रुपैयाँ, महिला बालबालिका, तर्फ २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । राक्सिराङले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक स्रोतबाट ५ करोड ४ लाख ९५ हजार रुपैयाँ, संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त, प्रदेश सरकारबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ, स्थानीय राजस्व संकलनबाट २ करोड ४५ लाख रुपैयाँ खर्च व्यहोर्ने स्रोत प्राप्त हुने लक्ष्य राखेको छ ।
राक्सिराङले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र गुणस्तरीय बनाउने, राक्सिराङमा बसाई सरी आउनेलाई घर उपहार कार्यक्रम संचालन गर्ने, औद्योगिक ग्राम स्थापना गर्ने, चटयाङ न्यूनीकरणका लागि ‘लाइटनिङ आरेस्टर तडित निरोधक’ जडानको लागि अनुदान दिने लगायतका कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।
गाउँसभामा पालिका उपाध्यक्ष थिङले आगामी आर्थिक वर्षको आम्दानी र खर्चको अनुमान गाउँसभामा पेश गरेका थिए भने पालिका अध्यक्ष राजकुमार मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।






