हेटौंडा, मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको १२ औँ वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । एशोसिएसनका अध्यक्ष नवराज चौलागाईका सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै मउवा संघका अध्यक्ष गुप्ताले मउवा संघ शुद्ध व्यवसायीको साझा संस्था रहेकाले संघले व्यवसायीकै पक्षमा बोल्दै आइरहेको र आगामी दिनमा समेत व्यवसायीकै पक्षमा उभिने बताए । मोवाईल व्यवसायमा युवाहरुको संख्या बढ्दो रहेकाले युवा विदेशीनबाट यस व्यवसायले महत्वपूर्ण भूमिका खेलेको बताउँदै निरन्तर व्यवसाय क्षेत्रमा नै केही गर्न सके राम्रो रहने बताए ।
उनले २५ मिटर सडक विस्तारमा मउवा संघ संघर्ष समितिको नेतृत्व गरिरहेको हिसाबले जहिले पनि व्यवसायीको पक्षमा वकालत गर्दै आइरहेको बताए । सरकारले दिएको निर्देशन बमोजिम सडक विभागले सुचना जारी गर्ने गरेकाले हामीले अब सरकारलाई विकल्पको बाटो रोज्न आग्रह गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय सरकार कर लिई रहेको छ, अनि अहिले घर भत्काउनु पर्छ भन्दै आइरहेकाले व्यवसायी र घरधनीलाई तर्साउने कार्य भइरहेको बताए । त्यस्तै, अध्यक्ष गुप्ताले व्यवसायीले घरबहाल कर तिर्नुनपर्ने बताएका छन् । कानुनी व्यवस्थामा नै घरधनीले घरबहाल कर तिर्नुपर्ने प्रावधान रहेकाले अब सबै व्यवसायीले घरबहाल कर नतिर्न आग्रह गरेका छन् ।
सुरक्षाको लागि राखिएका कतिपय सिसीटिभी क्यामेरा बिग्रेर बसेको अवस्थामा अब छिट्टै नै हरेक चोकमा सफा राम्रो क्वालीटीका क्यामेराहरु जडान गरी सञ्चालन गर्न संघ सहकार्य गर्न तयार रहेको बताए । उनले संघका आवद्ध रहेका व्यवसायीहरुको दुर्घटना पश्चात मृत्यु भएको खण्डमा हितकोष मार्फत दुई लाख रुपैयाँ प्रदान गर्नेगरि नीति बनाइएको समेत बताएका थिए ।
सभाको अवसरमा चाडपर्व लक्षित कार्यक्रममा सर्वाधिक कुपन खरिदकर्ता आरजे मोवाईल, रिजाल मोवाईल, न्यौपाने,वाच एण्ड मोवाईल सेन्टर, हेटौंडा मोवाईल हाउसलाई कदरपत्रले सम्मान गरिएको थियो भने उपहार प्रदान गर्ने र नगद सहयोग गर्ने कम्पनीतर्फ अम्बे मोवाईल्स प्रा.लि काठमाडौं, टेलि डाइरेक्ट प्रा.लि काठमाडौं, शुभलक्ष्मी मोवाईल र न्यौपाने वाच एण्ड मोवाईल सेन्टरलाई पनि कदर पत्रले सम्मान गरिएको थियो । त्यस्तै फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गरेका खेलाडीहरुलाई समेत सम्मान गरिएको एशोसिएसनका महासचिव राजकुमार दाहालले बताए ।
एशोसिएसनले आव २०७९/०८० मा एक लाख ६९ हजार ४४३ रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष चौलागाईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव दाहालले वर्षभरी गरिएका विभिन्न कार्यसम्पादनहरुको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष माधव न्यौपाने, एशोसिएसनका सल्लाहकार महेन्द्र राउत, मउवा संघका उपाध्यक्ष राजु अधिकारी, नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्य, बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, घर बहाल संघका अध्यक्ष समीरमान डंगोल, क्यान महासंघ मकवानपुरका अध्यक्ष शिव श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।






