हेटौंडा, बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार चार सय २० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
बागमती प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको १३ वटै जिल्लामा गरी कूल ७२ प्रतिशत रोपाइँ सकिएको हो। निर्देशनालयको तथ्याड्ढ अनुसार सबैभन्दा धेरै भक्तपुरमा ९४ प्रतिशत र काठमाडौँमा ९३ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै ललितपुरमा ८७ प्रतिशत, रसुवामा ८६ प्रतिशत, चितवनमा ८२ प्रतिशत, दोलखामा ७६.६ प्रतिशत, काभ्रेमा ७४.४ प्रतिशत, नुवाकोटमा ७२ प्रतिशत, सिन्धुपाल्चोक ७१.९ प्रतिशत, सिन्धुलीमा ७० प्रतिशत, मकवानपुरमा ६८ प्रतिशत, धादिङमा ५१ प्रतिशत र रामेछापमा ४४.५ प्रतिशत रोपाइँ सकिएको हो।
प्रदेशका केही जिल्लाहरुमा सिचाइँको राम्रो प्रबन्ध नभएको कारण वर्षात भइरहेकै समयमा रापाइँ गर्नुपर्ने बाध्यता भएकाले यो वर्ष केही ढिलाई भएको प्रदेश कृषि निर्देशनालयका सूचना अधिकारी राजन प्रसाद चौलागाईंले जानकारी दिए। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।







