हेटौंडा , उत्तरी मकवानपरको थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब हुने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले थाहानगरलाई फिल्मी शहरको रुपमा विकास गर्नका लागि आगामी मंसिर ९ देखी १५ गते सम्म एक हप्ते फिल्म महोत्सब आयोजना गर्न लागेको जानकारी दिए । महोत्सवमा नेपालका चर्चीत कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने छ ।
थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा आयोजना हुने महोत्सवमा सन्देशमुलक चलचित्रहरु प्रर्दशन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरुका बारेमा जानकारी गराउने जोशीले बताए ।
मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा रहेको थाहा नगरपालिकाको पर्यटन प्रवद्धनको लागि फिल्म फेटिभल आयोजना गर्ने तयारी गरिएको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । उनका अनुसार थाहा नगरपालिका पर्यटनको हिसावले प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि प्रचार प्रसारको अभावले चलचित्र निर्माताहरुको ध्यान पर्न नसकेकाले त्यसतर्फ उनीहरुलाई आकर्षित गर्न फिल्म फेटिभल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराउने,थाहा नगरका पर्यटन स्थलहरुका बारेमा छलफल अन्तरकृया गरी थाहा नगरलाई चलचित्रको छाँयाकन हब बनाउने मुख्य उदेश्य रहेको थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए ।
कुल २७ लाख ८० हजार रुपैयाँ लागतको उक्त कार्यक्रमलाई प्रदेशको संस्कृति पर्यटन मन्त्रालयले १० लाख रुपैयाँ र थाहा नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ भने अन्य लगत विभिन्न संघसंस्था तथा व्यवसायीक प्रायोजकहरुबाट संकलन गरिने जोशीले बताए ।
कार्यक्रममा थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले थाहा नगरमा हुने फिल्म महोत्सबले आन्तरीक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए । नेपाली चलचित्र क्षेत्रलाई छाँयाकनको हब बनाउने उद्देश्यले थाहानगरको सहयोग रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,थाहा नगरपालिकाका रोजगार शाखा प्रमुख कुमार नेगी, प्रेस संयोजक शम्भु अधिकारी लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।






