९८ प्रतिशत पानी महशुल संकलन

हेटौंडा/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष ०७८/०७९ मा ९८ दशमलव २८ प्रतिशत ग्राहकबाट पानी महशुल संकलन गर्न सफल भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले पानी महशुल संकलनमा लक्ष्य भन्दा केही कम रकम संकलन भएता पनि आन्तरिक आम्दानीमा भने लक्ष्य अनुसार नै नगद संकलन गर्न सफल भएको बताएको छ । बुधबार बोर्डले आर्थिक वर्ष ०७८/०७९ को प्रगति विवरण, आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेटको बारेमा जानकारी गराएको थियो ।

१ करोड ८२ लाख लिटर दैनिक सरदर पानी उत्पादन गरिरहेको बोर्डले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्मको जम्मा बिलिड्ड रकम ११ करोड ३ लाख ८१ हजार मध्ये १० करोड ८४ लाख ८९ हजार रुपैयाँ पानीको महशुल उठाउन बोर्ड सफल भएको बोर्डका सदस्य इन्द्र नेपालले बताए । बोर्डले दैनिक ७ देखि ८ घण्टा एक करोड ८२ लाख लिटर पानी उत्पादन गरी २२ हजार २ सय १४ धाराहरुमा वितरण गर्दै आइरहेको छ ।

बोर्डले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्ममा पानी महशुल वक्यौता रकम ३३ लाख ०२ हजार रहेको र ग्राहकहरुबाट ६८ लाख ७७ हजार अग्रिम महशुल भूक्तानी गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । यसैगरी बोर्डको कार्यालय सञ्चालन खर्चमा वार्षिक कुल लक्ष्यको तुलनामा १०३ दशमल १८ प्रतिशत, कुल लक्ष्यको तुलनामा सेवा सञ्चालनर्फ ७५ दशमलव ४४ प्रतिशत खर्च, नेपाल सरकार संगको सहलगानीमा रकम भुक्तानीमा वार्षिक कुल लक्ष्यको तुलनामा पूँजिगत खर्चतर्फ ६१ दशमलव ४ प्रतिशत रहेको छ भने व्ययतर्फ ७५ प्रतिशत ३१ प्रतिशत खर्च रहेको छ ।

गत आर्थिक वर्षमा बोर्डले नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन र हेटौंडा उपमहानगरपालिकासँगको सहलगानीमा करिब १६ करोडको लगानीमा नगरभित्र ३ वटा भुमिगत पानी टंकी, १ वटा ओभर हेड पानी टंकी, ४ वटा डिप बोरिड्ड र मेन तथा शाखा पाइप लाइन विस्तारको कार्य, हेटौंडा १४ वनेलधापमा ३ लाख लिटरको भुमिगत पानी टंकी, मेन तथा शाखा पाइप लाइनको कार्य, २८ हजार ९ सय ३८ मिटर पाइप लाइन विस्तारलगायतको कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

न्यूनतम खानेपानी महशुल भदौ महिनाबाट
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपभोक्तालाई भदौ महिनाबाट न्यूनतम पानी महशुल रकममा छुट दिने भएको छ । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाबीच खानेपानीको न्यूनतम महशुल रकम उपभोक्तालाई निःशुल्क गर्ने द्विपक्षीय सम्झौता भएको थियो। सम्झौता अनुसार बोर्डमार्फत् खानेपानी उपभोग गर्ने प्रति घर परिवार न्यूनतम १० हजार लिटरसम्मको न्यूनतम पानीको महशुल रकम हेटौंडा उपमहानगरपालिकाले भुक्तानी गर्नेछ ।

उपभोक्तालाई खानेपानीको न्यूनतम महशुलमा छुट दिने सम्बन्धमा नगर कार्यपालिकाको साउन १६ गते बसेको बैठकले निर्णय गरेको थियो । नगर कार्यपालिकाको निर्णय अनुसार नै उपमहानगरपालिकाले उपभोक्ताहरुलाई प्रतिधारा १० हजार लिटरसम्म पानी खपत गरेबापत ८५ रुपैयाँ खानेपानी व्यवस्थापन बोर्डलाई उपलब्ध गराउने सम्झौता भएको थियो ।

यस्तै, सामुदायिक विद्यालयहरुलाई प्रतिधारा ७ सय रुपैयाँ, सामुदायिक क्याम्पसलाई प्रतिधारा १ हजार ५ सय रुपैयाँ, नगर सहरी स्वास्थ्य केन्द्रलाई प्रतिधारा ७ सय रुपैयाँको दरले उपमहानगरपालिकाले बोर्डलाई महशुल उपलब्ध गराउने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button