हेटौंडा, बागमती प्रदेश सभाको जारी १२ औं अधिवेशन बैठक अन्त्य भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको १२ औं अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले आजै बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकबाट सिफारिस भई आए बमोजिम संविधानको प्रकृया पूरा गरी बैठकको अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।
प्रदेश सभाको गत जेठ ९ गते आह्वान गरिएको उक्त अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को बजेट पास गर्नुका साथै केही विधेयकहरु पारित गरेको छ । उक्त अधिवेशन बैठकमा ३८ वटा बैठकहरु संचालन भएका छन् ।
उक्त अधिवेशन बैठकले अर्थ सम्बन्धी २ वटा विधेयकसहित ४ वटा विधेयकहरु पारित गरिएको छ । प्रदेश सभाको उक्त बैठकहरुमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो ।
सो अधिवेशनको बैठकमा ७ वटा विधेयकहरु दर्ता भएका थिए । जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् ।
प्रदेश सभाको दोस्रो कार्यकालको निर्वाचन सकिएलगतै वि।सं। २०७९ साल पुष १८ गतेबाट पहिलो बैठक सुरु भई हिजो असोज २२ गतेसम्ममा पटक–पटक गरी आज राति अन्त्य हुने भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।






