हेटौंडामा खेलकुद महोत्सव हुने

हेटौंडा, हेटौंडामा बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा पुष ५ देखि १७ गतेसम्म खेलकुद महोत्सवको आयोजना गर्ने भएको हो । खेल क्षेत्रको विकास एवम् कोष वृद्धिका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए ।

ADVERTISEMENT

हेटौंडा १० स्थित टिसिएनको मैदानमा हुने खेलकुद महोत्सवको तयारीलाई अघि बढाइएको छ । महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीको महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । यस्तै कराँतेको जिल्लास्तरी प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन हुने उनले जानकारी दिए । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले प्राप्त गर्ने अनुमान रहेको अध्यक्ष खड्कीले जानकारी दिए । ‘मकवानपुर खेल क्षेत्रको उर्वरभूमी हो । आर्थिक अभावकै कारण धेरै खेलाडीले बीचमा खेल छोड्नुपरेको छ । आर्थिक अभावमा उपचार हुन नसकेको अवस्था छ’, उनले भने, ‘यो सबै समस्याको समाधान गर्नका लागि आर्थिक जोहो गर्ने उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागेका हौं । हाम्रो उद्देश्य पवित्र छ, तसर्थ सबै संघसंस्था र आम जिल्लाबासीबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छौं ।’

महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने अध्यक्ष खड्कीले प्रष्ट्याए । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *