बागमतीका १३ अस्पतालको स्तरोन्नति गरिने

हेटौंडा, बागमती प्रदेश सरकारले आफू मातहत रहेका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

ADVERTISEMENT

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले हाल सेवा प्रवाह गर्दै आएको धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, मकवानपुरको हेटौंडा अस्पताल, चितवनको बकुलर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृतिं अस्पताल, काठमाडौँको टोखा चण्डेश्वरी अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, रसुवाको रसुवा अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई स्तरोन्नति गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताललाई ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालय सूचना अधिकारी डा। रविन भुसालले जानकारी दिए । उनका अनुसार भक्तपुर अस्पतालको क्षमता पनि ३०० शय्याको बनाउने निर्णय भएको छ भने धादिङ अस्पताल, त्रिसुली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई १०० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गरिनेछ ।

यस्तै, सिन्धुपाल्चोक, रामेछाप, पशुपति चौलागाई स्मृति अस्पताल र मेथिनकोट अस्पताललाई ५० शय्या र टोखा चण्डेश्वरी अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, रसुवा अस्पताललाई २५/२५ शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिएको छ ।

यसअघि १०० शय्याको क्षमतामा सञ्चालित हेटौंडा र भक्तपुर अस्पतालको स्तरोन्नतिको तयारी भइरहेको उनले बताए । धादिङ अस्पताल, सिन्धुली अस्पताल ५०/५० शय्या, त्रिशुली अस्पताल २५ शय्या र बकुलहर अस्पताल १५ शय्यामा सञ्चालन हुँदै आएका छन् ।

Advertisement 5

यस्तै चौतारा अस्पताल २५, रामेछाप २५, पशुपति चौलागाई स्मृति अस्पताल ५ र मेथिनकोट अस्पताल ५ शय्याको अस्पतालका रुपमा सञ्चालन भइरहेका छन् । टोखा चण्डेश्वरी अस्पताल १५, बज्रबाराही चापागाउँ अस्पताल १५ र रसुवा अस्पताल ५ शय्यामा सञ्चालन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *