हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडाबजार क्षेत्रको सडक विस्तार हुनुपर्ने बताएका छन् ।
शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक दलहरुले सडकलाई मुख्य केन्द्रबिन्दु बनाएर राजनीतिक गर्न नहुने बताए ।

‘राजनीतिक दलहरुले सडकलाई गिजोल्नु भएन ।’ उनले भने –‘कि त सडक भत्काउनु पर्यो होइन भने सडकको आतङ्क लिएर व्यवसायीलाई त्रसाउनु भएन । हेटौंडाको मुख्य बजारबाट राजमार्गलाई डाइभर्ट गरी रातोमाटेदेखि राप्ती पुल र राप्तीपुलदेखि चौकीटोलसम्मको सडकलाई बाइपासको रुपमा प्रयोग गर्नुभन्दा पनि पदमपोखरीबाट बाइपासको सडक निर्माण गर्दा कसो होला भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रश्न गरे । मकवानपुरका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलालाई २५ मिटर सडकको विषयमा बोल्नु भएननी भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रश्न गरे । भिमफेदी कुलेखानी सुरुङमार्ग निर्माण नहुनुमा पनि राजनीतिक चलखेलकै कारण रहेको उनले दावी गरे । ‘अहिले व्यवसायी, मन्त्री, नेताहरु सबै निराशा भएको देख्छु । तर निराशा नभएको सम्मानिय प्रधानमन्त्री मात्र देख्छु ।’ उनले भने ।
सरकारले बजेट भाषण गर्छ, अर्थविद्ले पेश गर्छ, अनि त्यो पास भइसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ, त्यो ठ्याक्कै क्रस गर्नेगरी विपरित हुने गरेको उनले बताए । नीतिगत रुपमा धेरै कुरा सच्याउन पर्ने अवस्था रहेको जिकिर गर्दै बजेट आउनुपूर्व नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने उनले बताए । बागमती प्रदेश सरकारले उद्यमशील, घरेलु र कृषि क्षेत्रमा साना–साना काम गर्न सके पनि ठुला उद्योग चलाउने क्षेत्राधिकार नभएको स्पष्ट पारे। हेटौँडा औद्योगिक क्षेत्र र मयुरधापको औद्योगिक क्षेत्र प्रदेश सरकारले चलाउनुपर्ने आवाज उठेपनि प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने उनले बताए । प्रदेशमा हस्तकला र घरेलु उद्योगलाई चाहिने काठ, ढंगा लगायतका सामग्री निर्वाध ढंगले दिने नीति पास गरिसकेको बताउँदै घोषणाको तयारी गरिरहेको बताए । प्रदेशको विभिन्न स्थानमा उद्योगग्राम, कोशेली घर बन्ने क्रममा रहेको बताउँदै प्रदेश सरकारको सक्रियतामा उद्यमशीलता तालिमहरु संचालन गरिरहेको बताए।
लगानी र नीति बनाउनुपूर्व अध्ययन अनुसन्धान र बजारीकरणको अध्ययन नहुँदा स्थापना भएका उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए । उद्योग खोल्नु पूर्व त्यसलाई आवश्यक कच्चा पदार्थको व्यवस्था र बजारको अध्ययन गरेर मात्रै उद्योग खोल्न उनले व्यवसायीलाई सुझाव दिएका थिए । प्रदेश सरकारले समुदायमा आधारित ८५ पालिकालाई उत्पादनको पकेट क्षेत्र घोषण गर्ने तयारी गरेको उनले बताए । प्रदेशलाई खाद्यान्नको पकेट क्षेत्र घोषण पनि छिट्टै गरिने उनले बताए । यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडक विस्तारको काम रोक्ने र छेक्ने भन्दा पनि सडक विस्तार नीतिगत रुपले टुङ्ग्याउनुपर्ने बताएकी छिन् ।
कार्यक्रममा मकवानपुरका प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले व्यवसायीहरु विचलित भएको अवस्थामा सरकारले लगानीमैत्री व्यवसायी बनाउनुपर्नेमा जोड दिएका थिए । धरासायी बन्दै गएको हेटौंडा सिमेन्टलाई मजबुत बनाउन संघीय सरकारलाई पहलकदामी चाल्न मुख्यमन्त्रीसमक्ष उनले आग्रह गरेका थिए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, महेश बतौंला, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मुक्तान लगायतको आतिथ्यता रहेको थियो ।







