हेटौडा, हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आयोजना र ब्यवसायिक सीप विकास तालिम केन्द्र, हेटौडाको सहयोगमा मंगलवारदेखि चौघडामा ३ महिने आधारभूत केश श्रृंगार तथा सौन्दर्य तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले सीप सिकेर आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

नगरपालिकाले सीपको सदैव सम्मान गर्ने बताउदै कर्म क्षेत्रमा काम गर्दा परेका समस्यामा सहयोग गर्ने बताए । सीप भएको मान्छेको सबैले कदर गर्ने भएकाले आफूले सिकेका सीप अरुलाई पनि सिकाउनु पर्नेमा बानियाँको जोड थियो ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, ब्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख अशेष खड्का, लेखा अधिकृत डोर बहादुर खड्का, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी, प्रशिक्षक नवराज पौडेल, क्लबका निवर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल, क्लवका सचिव राजकुमार फुयाल, सहसचिव शोभा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
अनुपा घिमिरे, निर्मला गुरागाई र ईन्द्रावती तिमल्सिनाले सहजीकरण गर्ने तालिमा स्थानीय २५ जना किशोरीहरुको सहभागिता रहने क्लबले जनाएको छ ।







