हेटौंडा, १४ औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हेटौंडा उपमहानगरपालिका प्रथम भएको छ । हेटौंडाको हुप्राचौरमा दुईदिनसम्म चलेको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले २० स्वर्ण १० रजत र २० कास्य जित्दै प्रथम भएको हो । बकैयाँ गाउँपालिकाले १२ स्वर्ण १० रजत र ९ कास्य प्राप्त गरी दोस्रो भयो भने थाहा नगरपालिकाले ९ स्वर्ण ९ रजत ९ कास्य प्राप्त गरी तेस्रो भयो ।

राष्ट्रपति रनिङ शिल्डमा बागमती गाउँपालिकाले ४ स्वर्ण ८ रजत ८ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण १ रजत ३ कास्य, मनहरी गाउँपालिकाले १ रजत ३ कास्य, इन्द्रसरोवर गाउँपालिकाले १ स्वर्ण २ रजत २ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ९ रजत ३ कास्य जित्न सफल भएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाले जानकारी दिए । मकवानपुरको राक्सिराङ गाउँपालिकाले कुनै पनि पदक प्राप्त गर्न सकेन ।
आइतबार भएको पुरुष भलिबल प्रतियोगितामा थाहा नगरपालिका विजयी भएको छ । हेटौंडा उपमहानगरपालिकालाई ३–१ को सेटले पराजित गर्दै थाहा नगरपालिका विजयी भएको हो । प्रतियोगितामा थाहा नगरपालिकाको पुजन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
आइतबार भएको महिला भलिबल प्रतियोगितामा भीमफेदी गाउँपालिका प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिकालाई ३–२ को सेटले पराजित गर्दै भीमफेदी विजयी भएको हो । प्रतियोगितामा भीमफेदी गाउँपालिकाकी जिया स्याङतान म्यान अफ द म्याच घोषित भइन् ।
‘बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति टुंगो लागेको छैन ।’ मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख कोइरालाले भने –‘प्रतियोगिताको लागि यसवर्ष पनि मकवानपुर जिल्लाको खेलाडीको लागि १५ दिन प्रशिक्षणमा राखिने छ ।’









