हेटौंडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले फागुन १७ गते दुई घण्टा राजमार्ग बन्द गर्ने भएको छ । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गर्न लागेको हो । मकवानपुरका करिव ६ हजार किसानको उपस्थितिमा फागुन १७ गते राजमार्ग बन्द गर्न लागिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले जानकारी दिए ।
‘बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु सानोपोखरा चोकमा भेला हुनेछन् । भीमफेदी गाउँपालिका र पुरानो मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकिटोलमा, हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुल, मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला हुन्छन’, राजमार्ग बन्दको विषयमा जानकारी दिँदै कंडेलले भने, ‘दिउँसो ११ बजे बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहित र्याली सुरु गर्नेछौं ।
र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकिटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत गर्नेछौं ।’ सडकमा किसानहरु हिँडेर करिब २ घण्टा राजमार्ग अवरुद्ध हुने उनले बताए । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले सूचना जारी गर्दै ब्यानर, प्लेकार्डसहित दुध किसानहरु ¥यालीमा उपस्थित जनाउन आग्रह गरेको छ । सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम विगत ६ महिनादेखि नपाएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ ।







