हेटौंडा, मकवानपुरका क्रिकेटर रामनरेश गिरीको कप्तानीमा बागमती प्रदेश क्रिकेट टिमले इन्डो नेपाल टी २० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
चितवनको भरतपुरमा यही चैत ८ गतेदेखि १८ गतेसम्म हुने इन्डो नेपाल टी २० क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले मकवानपुरका क्रिकेटर गिरीको कप्तानीमा १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो । संघले सार्वजनिक गरेको टिममा रामनरेश गिरी (कप्तान), विवेक रानामगर, योगेश भट्ट, इशान पाण्डे, रबिन जोशी, उत्तम थापा मगर, बिपिन आचार्य, सुमन सुनार, रोशन विक, तिलक राजभण्डार, कृश कार्की, मनोज यादव, अभिशेष कोइराला र शुभ कंसाकार रहेका छन् । सुमन सुनार, रामनरेश गिरी र शुभ कंसाकार मकवानपुरका क्रिकेट खेलाडी हुन् ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा आयोजक भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र भारतीय टोलीमा पिएसआर लखनउ र तलतला कोलकत्ताले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताका सबै खेल गौतम बुद्ध क्रिकेट रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनमा आयोजक भरतपुर मेयर्स ११ ले बागमती प्रदेशसँग सामना गर्ने छ ।







