‘सहकारी ठगीमा संलग्नलाई दण्डित गर्नुपर्छ’

हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सहकारी ठगीमा संलग्नलाई छानबिनको दायरामा ल्याएर दण्डित गर्नुपर्ने बताएका छन् ।

ADVERTISEMENT

सहकारीको नाममा लाखौँ जनताका अर्बौँ रुपैयाँ लुटेकाहरू अहिले सरकारमा बसिरहेको तर्क गर्दै उनले निष्पक्ष छानबिन र कारबाहीको लागि कांग्रेसले निरन्तर संघर्ष गरिरहेको बताए ।

कांग्रेस मकवानपुरले मंगलबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै सभापति बानियाँले सहकारी ठगी गरेकाहरू नै सरकारमा बसेर छानबिनलाई प्रभावित बनाउने काम गरिरहेको टिप्पणी गरे ।

ADVERTISEMENT

‘सहकारीबाट लाखौँ जनताको अर्बौ रुपैयाँ लुटिएको छ । त्यस्तो लुटमा संलग्न व्यक्तिहरू नै अहिले सत्ताको नेतृत्वमा छन् । आफैँले सहकारीको नाममा जनताको सम्पत्ति लुटेका छन्, अनि आफैँ अनुसन्धान गर्नुपर्ने निकायको प्रमुख बनेर अनुसन्धान प्रभावित गरिरहेका छन् ,’ उनले भने, ‘कांग्रेसले अनुसन्धानलाई प्रभावित हुन नदिन निरन्तर संसदीय छानबिन समितिको माग गरिरहेको हो । संसदीय छानबिन समिति बनाएर जनतालाई न्याय नदिलाएसम्म कांग्रेस रोकिनेछैन ।’

पूर्वअर्थमन्त्री जनार्दन शर्माको उदाहरण पेस गर्दै सभापति बानियाँले छानबिन गर्न प्रतिपक्षी दलले आवाज उठाएपछि त्यसको सुनुवाइ गर्दै संसदीय छानबिन समिति गठन गरेको र मन्त्रीलाई राजीनामा गर्नसमेत लगाएको बताए ।

कांग्रेस लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध रहेकाले सत्ताधारी दललाई पनि उक्त मार्गमा ल्याउने प्रयत्न गरिरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *