हेटौंडा, नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ । कांग्रेस मनहरी गाउँपालिकाको वडा २ को झुल्यान र मनहरी ५ को स्कुलचोक डिल्लीपुरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अगुवा कार्यकर्ता भेला तथा स्थानीय समस्याको बारेमा छलफल गरिएको हो ।
भेलामा कांग्रेसका अगुवा कार्यकर्ताले जनप्रतिनिधि र पार्टी बीचको समन्वयको अवस्था, आगामी वर्षको बजेटमा गर्नुपर्ने शिक्षा, स्वास्थ्य र विकाशनिर्माणको अबस्था बारेमा आआफ्नो बिचार ब्यक्त गरेका थिए । नेता बानियाँले स्थानीयस्तरमा रहेका विद्यमान समस्या, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, गाउँपालिका र प्रदेश सरकारले बनाउने बजेटमा स्थानीयको समस्याका साथै पार्टीको अवस्था र भावी रणनीति बारे वडा सभापतिहरु, पार्टीका स्थानीय नेता, अगुवा कार्यकर्ता र जनप्रतिनिधिहरुसंग छलफल गर्नुभएको थियोे ।
प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले जनप्रतिनिधि, पालिका र वडा सभापतिहरुले भौगोलिक अवस्था, स्थानीय जनताको आवश्यकता र औचित्यको आधारमा व्यापक छलफल गरेर शिक्षा, स्वास्थ्य र विकाश निर्माणलाई प्रमुखताका साथ ध्यान दिएर बजेट निर्माण गर्न पालिका अध्यक्षलाई निर्देशन दिनुभयो । भेलामा कांग्रेस मकवानपुर प्रतिनिधि सभा २ ख का क्षेत्रीय सभापति रञ्जन कालाखेती, जिल्ला सदस्य रामबहादुर विष्ट, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, मनहरी २ का सभापति प्रेम गोङ्वा, ५ का सभापति विष्णुप्रसाद उप्रेती सुधिर, स्थानीय नेताहरु नारायण उप्रेती, विदुर थापा, योगेन्द्र अर्याललगायत अगुवा कार्यकर्ताहरुले धारणा राखेका थिए ।