हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालय समक्ष नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिदिन प्रस्ताव गरेका छन् ।
बागमती प्रदेशसभा सचिवालयका अनुसार मंगलबार दिउँसो ३ बजेका लागि बैठक आव्हान समेत गरिएको छ । साउन ८ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही अनुसार उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको भोलीपल्ट ९ गते उनले पद तथा गोपनीयताको सपथ लिँदै ९ सदस्यीय मन्त्रीमण्डल समेत विस्तार गरेका थिए । साउन १२ गते एक विना विभागीय सहित १४ सदस्यीय मन्त्री मण्डल बनाउँदै सरकारलाई पूर्णता दिएका थिए ।
मुख्यमन्त्री लामासँग कांग्रेसका ३७ र एमालेका २७ सांसद् गरी ६४ जनाको समर्थन रहेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार जोगाउन र विश्वासका मतका लागि उनलाई ५६ सांसद् भए पुग्ने अवस्था रहेको छ । बागमतीमा पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ७ जनालाई मन्त्री नियुक्त गरेका छन् । केन्द्रीय सत्ता समीकरण अनुसार यहाँ पनि कांग्रेस र एमालेको बीचमा सत्ता सहकार्य भएको हो ।







