मकवानपुरका १०२ वडामा आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका १०२ वटै वडामा आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। बदर मतको संख्या घटाउने तथा मतदान प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

प्रदेश निर्वाचन कार्यालय हेटौँडा ले प्रत्येक पालिकाबाट एक–एक जना अनुगमनकर्तालाई तालिम प्रदान गरेको थियो। तालिमप्राप्त अनुगमनकर्ताले आ–आफ्नो पालिकाका प्रत्येक वडाबाट एक–एक जनालाई तालिम दिएपछि वडा तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको हो। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई स्वयंसेवकका रूपमा खटाइएको छ। स्वयंसेवकले घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउनेछन्।

कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिमप्राप्त अनुगमनकर्ताले गर्ने जनाइएको छ। निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। निर्वाचन कार्यालयले आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो। जिल्लामा दुई वटा निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। जिल्लाको कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेको छ, जसमध्ये १ लाख ५३ हजार ३७६ महिला र पाँच जना अन्य मतदाता रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *