हेटौंडा, ३ साउन/नेपाली चलचित्रका महानायक राजेश हमालले युवाहरुमा टेक्नोलोजीलाई आत्मसाथ गर्दै अघि बढ्नु आवश्यक रहेको बताएका छन् । युवामा धेरै चुनौति रहेको औल्याँदै उनले समय अनुसार परिस्कृत र परिमार्जित भएर अघि बढ्नुपर्ने बताएका हुन् । मंगलबार हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले आयोजना गरेको ‘एजुकेशन एक्सपो–२०२२’ कार्यक्रममा महानायक हमालले टेक्नोलोजिले गर्दा सबै कार्यमा परिवर्तन आउने भएकोले युवाहरु समय अनुसार परिवर्तनशील हुनुपर्ने सुझाव दिएका हुन् ।

‘युवाहरु धेरै कुराले प्रभावित हुने गरेका छन् । अब मानव जातिको विकास टेक्नोलोजीले निर्धारण गर्ने भएको छ’, उनले भने, ‘म को हुँ ? म कुन अवस्थामा छु भनेर आफैँलाई प्रश्न गर्ने बेला आएको छ । चाहना र क्षमता बेग्लै भएतापनि युवाहरु भावनामा बग्नुभएन ।’ शैक्षिक गुणस्तरसंगै अतिरिक्त क्रियाकलापमा पनि युवा पोख्त हुनुपर्ने बेला आएको उनको भनाई थियो । कुनैपनि काम गर्दा त्यसप्रति झुकाव राख्नुपर्ने भन्दै उनले आफ्नो उदाहारण दिँदै भने, ‘कलाकार मेरो प्यासेन्स हो । त्यसैले मैले ३२ वर्ष चलचित्रमै जीवन बिताएँ ।’ कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई महानायक हमालले उत्प्रेरणा दिएका थिए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राध्यापक रामबाबु थापाले महानायक राजेश हमालको जीवनको बारेमा चर्चा गरेका थिए । क्याम्पसका प्रिन्सिपल पुरनबहादुर जोशीले कलाकार मात्र नभई समाजसेवामा सरिक राजेश हमाललाई विद्यार्थी माझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
यसअघि क्याम्पसले एक कार्यक्रमका बीच नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई कार्यक्रममा स्वागत गरिसकेको छ । समाजसेवामा पनि क्रियाशील रहेका हमालसँग म्यानेजमेन्टले सहकार्य गरी सामाजिक कार्यमा अगाडी बढ््ने जोशीले बताए । क्याम्पसका योजना तथा विकास विभागका निर्देशक दीपेश जोशीले क्याम्पसमा भएका विभिन्न गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । ‘हामी विश्वविद्यालय तहको शिक्षालाई प्रभावकारी बनाएर एक्काइसौं शताब्दीअनुकुल विद्यार्थीलाई सक्षम बनाउने प्रयासमा छौं ।’ उनले भने –‘विद्यार्थी केन्द्रित शिक्षण एवम् शैक्षिक क्रियाकलापका लागि प्राध्यापकको क्षमता विकासको कार्य पनि गरिरहेका छौं ।’
विद्यार्थीको नेतृत्वमा क्याम्पसका विभिन्न कार्यक्रम भइरहेको उनले बताए । क्याम्पसमा ७ वटा विभिन्न क्लवहरु आवद्ध रहेको छ । महाविद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जव डाइनेमिक कम्पनीका राजिव शर्मा र प्रयासराज उपाध्यायले विद्यार्थीहरुलाई करियर काउन्सिल विषयमा अभिमुखीकरण गरेका थिए । एजुकेशन एक्सपो कार्यक्रममा करियर काउन्सिलसंग ‘जभ डायनेमिक’, प्रत्यक्ष प्रदर्शन कार्यशाला, व्यवस्थापन र आइटी सम्बन्धी अन्वेषण, छात्रवृत्ति जित्ने अवसर लगायतका कार्यक्रम भएको थियो । कार्यक्रममा शैक्षिक सम्बन्धि १२ वटा स्टल निर्माण गरी प्रदर्शन गरिएको थियो ।






